Sunday, February 26, 2012

अन्ठाउन्न करोड रुपियाँ कहाँ गयो प्रचण्ड कमरेड ?

 एकीकृत माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग लडाकुबाट उठाएको र खोसिएको रकमको हिताब मागेका छन्। उनीहरुले पाँच वर्षयता लडाकुबाट ५ सयदेखि हजार रुपैयाँ लेबीका रूपमा उठाएको दाबी गर्दै हिसाब सार्वजनिक गर्न माग गरे। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा वाइसिएल नेताहरूले पाँच वर्षदेखि लडाकुबाट उठाएको लेबीसँगै स्वैच्छिक अवकाशमा जाँदा खोसिएको रकमको हिसाब दाहालसँग मागेका हुन्। 
१९ हजार ६ सय लडाकुको तलबबाट ५ वर्षसम्म मासिक ५ सय रुपैयाँ उठाए त्यो रकम ५८ करोड ८० लाख हुन्छ।
वाइसिएल नेताले स्वैच्छिक अवकाशमा गएका लडाकुबाट खोसिएको रकमबारे पनि प्रश्न गरे। वाइसिएल संयोजक गणेशमान पुनले 'एकाध साथीहरूले हिसाबकिताब मागेको' बताए।
छलफलका क्रममा दाहालले 'हेडक्वार्टरसँग पैसा नभएको प्रष्टीकरण दिएको' एक वाइसिएल नेताले बताए। 'तपाईंहरूलाई लागेको होला, पिएलए (जनमुक्ति सेना)को पैसा सबै आयो, तर त्यस्तो होइन, हेडक्वार्टरमा पैसा आएको छैन,' दाहाललाई उद्धृत गर्दै उनले भने।
वाइसिएल नेताले लडाकुका कमान्डरबाट अनियमितता भएको हुनसक्ने उल्लेख गर्दै छानबिन माग गरे। 'जनमुक्ति सेनाका प्रत्येक व्यक्तिबाट उठाएको त्यो रकम पारदर्शी बनाउनुपर्‍यो,' वाइसिएल नेताहरूको माग थियो, 'हेडक्वार्टरमा पैसा नआएको भए कमान्डरहरूबाट अनियमितता भएको हुनसक्छ, छानबिन हुनुपर्‍यो।'
वाइसिएल नेताले आफूहरूलाई लडाकुबाट संविधानसभा निर्वाचनमा खटाउँदा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न जोड दिए। त्यतिखेर आफूलाई लडाकुसरह सुविधा र पार्टीमा हैसियत दिने प्रतिबद्धता नेतृत्वले गरेको उनीहरूले स्मरण गराए। पार्टीले उनीहरूलाई लडाकुसरहै सुविधा दिने प्रतिबद्धता जनाउँदै आएको छ।
छलफलमा दाहालले प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको स्वीकार्दै पार्टीले तत्काल व्यवस्थापन गर्ने बताए। 'समान हैसियत र सुविधा दिने भनेको हो, पार्टीले मिलाउन सकेन, म सबै विषय पार्टीमा छलफल गरी छिट्टै टुंग्याउँछु,' दाहालले भने।
वाइसिएल संयोजक पुनका अनुसार दाहालले 'कार्यालयको बैठक गरी यसको व्यवस्थापन गर्ने' जानकारी दिए। 'कार्यालयको बैठक राख्छु, पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरी समाधान खोज्न केही साथीलाई जिम्मा दिन्छु,' दाहाललाई उद्धृत गर्दै पुनले भने, 'अब यो समस्या छिट्टै समाधान गर्छु।'
वाइसिएल नेताहरूले लिखित प्रतिबद्धतासमेत माग गरेका थिए। उनीहरूले मौखिक प्रतिबद्धता गर्नुभन्दा व्यवहारिक कार्यान्वयनमा जोड दिए। उनीहरूका अनुसार पार्टी नेतृत्वले उसबेला लडाकुभित्र ७ डिभिजन र बाहिर २१ वटा डिभिजन निर्माण गर्ने बताएका थिए।
उनीहरूले आफूहरूलाई अल्मल्याएको भन्दै नेतृत्वप्रति कटाक्ष गरे। 'क्रान्ति गर्न नसक्ने भए छाडिदिनुहोस्, हामीलाई अनिर्णयको बन्दी नबनाउनुहोस्, झुक्याएर र अल्मल्याएर नराख्नुहोस्, केही गर्ने उमेर यही हो, तपाईंहरूले भुल्भुलैयामा राखेर हाम्रो उमेर नै बिताइदिनुभयो,' बैठकमा लिम्बुवान राज्य समितिका वाइसिएल नेता इन्द्र आङबुहाङको भनाइ उद्धृत गर्दै एक नेताले भने।
आङबुहाङले अघिल्लो दिनको बैठकमा अध्यक्ष दाहाल रिसाएकोप्रति इंगित गर्दै भनेका थिए, 'हिजो तपाईं रिसाएको देख्दा हामीलाई अचम्म लाग्यो। रिसाउनुपर्ने र आक्रोशित हुनपर्ने हामी हो। तपाईंले त खानलाउन पाउनुभएको छ, हामीले त्यही पनि पाएका छैनौं।'
शुक्रबारको छलफलमा अध्यक्ष दाहाल रिसाएर 'यसरी त घेर्न भएन नि' भनी प्रतिक्रिया दिएका थिए। शुक्रबारको छलफल बीचैबाट दाहाल 'भोलि आउँला' भन्दै बाहिरिएका थिए।
शनिबारको बैठकमा आङबुहाङले दाहाललाई भनेको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'नेता भएर भाग्न पाइँदैन, नेतृत्वले समस्या हल गर्ने हो, आगो सल्काउने होइन।'
उनले बोल्दै गर्दा दाहाल पक्षधरले 'भोलि डोको र स्टे्रचर बोक्नेले पनि सुविधा र हैसियत माग्ला, के गर्ने?' भनी प्रश्न गरेपछि उनी झनै आक्रोशित भए। 'हामीले कहिले पैसा मागेका थियौ? नेतृत्वले राष्ट्रिय सम्मेलनमै सुविधा र हैसियत दिने प्रतिबद्धता व्यक्त गरेको होइन? हामीले पैसा मागेको हो?' आङबुहाङको प्रश्न थियो।
छलफलमा मगरात राज्य समितिका संयोजक ध्रुव घिमिरेले कार्यकर्ताको त्याग र बलिदानकै कारण आन्दोलन सफल भएको बताए। नेतृत्वले खासै त्याग नगरेको आरोपसमेत उनले लगाए। कार्यकर्तालाई भर्‍याङ बनाएर नेतृत्व स्थापित भएको र अहिले कार्यकर्ताकै वास्ता गर्न छाडेको उनको आरोप थियो। 'हिजो पुष्पकमल दाहाल मास्टर थिए, हाम्रै काँध चढेर र १० हजारको बलिदानी दिएर प्रचण्ड बनेका हुन्,' घिमिरेले बैठकमा भने।
नेतृत्वले नै सुविधा र हैसियत दिने प्रतिबद्धता गरेको वाइसिएलका अरू नेताले पनि स्मरण गराए। 'नेतृत्वले आफ्नै प्रतिबद्धता पूरा गर्न सक्दैन भने स्त्रीवस्त्र धारण गरे हुन्छ,' वाइसिएल सचिवालय सदस्य श्यामकुमार बुढामगरले भने। पार्टीले आवश्यक पर्दा आफूलाई प्रयोग गरेको र अहिले बेवास्ता गरेको पनि वाइसिएल नेताको गुनासो थियो।
लडाकुबाट वाइसिएलमा गएकाको हकमा पार्टीले तत्काल निर्णय गर्ने प्रतिबद्धता आएकाले आन्दोलन फिर्ता लिएको स्मरण गराउँदै उनीहरूले भने, 'अब पनि ती प्रतिबद्धता कार्यान्वयन नहुने हो भने आन्दोलनका कार्यक्रम ल्याउँछौं।' माग पूरा नभए केन्द्रीय कार्यालय र दाहाल निवास घेर्ने धम्कीसमेत उनीहरूले दिए।
यसअघि एक महिनाभित्र वाइसिएलको माग सम्बोधन गर्ने सहमति भए पनि नेतृत्वले वास्ता नगरेको भन्दै उनीहरूले धम्की दिएका हुन्। लडाकुबाट वाइसिएलमा गएका २१ नेताले मंसिर २२ गते 'वाइसिएलको संरचना र विकासका लागि भरणपोषण र व्यवस्थापन महत्र्वपूर्ण र अनिवार्य भए पनि नेतृत्वको ध्यान नगएको' भन्दै दाहाललाई ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रमा उनीहरूले वाइसिएलका लागि 'जनमुक्ति सेनाबाट प्रतिव्यक्ति मासिक एक हजारका दरले छुट्याएको रकम नपाएको' भन्दै तुरुन्त उपलब्ध गराउन माग गरेका थिए। 

No comments:

Post a Comment